चरक मेमोरिल हस्पटिलमा प्रदेश सभाका सदस्यको कोभिड उपचार हुदै

गोरखा । गण्डकी प्रदेश सभाका दुई जना सदस्यको उपचार आफ्नो कोभिड उपचार कक्षमा भइरहेको चरक मेमोरिल हस्पटिलले जनाएको छ।

कोरोना पोजेटिभ भएका नेपाली कांग्रेसकी मनकुमारी गुरुङ र जनमोर्चाका खमिवक्रिम शाहीको एकै ठाउँमा उपचार भइरहेको अस्पतालका प्रबन्ध निर्देशक कपिल कोइरालाले जानकारी दिए। 

केही मिडियाले खमिवक्रिमलाई कोरोना संक्रमण नभएको, त्यसै भर्ना गरिएको भन्दै समाचार प्रकाशित गरेकोमा पनि उनले आपत्ति जनाए। 

उनले भने, ‘दुवै जना माननीय अवस्थामा अस्पतालमा भर्ना गरेरै उपचार गराउनुपर्ने छ। हामीले उपचार गरिरहेका छौँ। यस्तो संवेदनशील अवस्थामा अमानवीय टिप्पणी गर्नु हुन्न।’

गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यक्रम तय थियो। तर जनमोर्चाका सांसद शाही एक्कासि बेपत्ता भएको सूचना पाएपछि जनमोर्चाले आफ्ना सांसद खोज्न भन्दै सदनसँग माग गरेको थियो। सांसद सम्पर्कविहीन भएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद् बैठक स्थगित गरेका थिए।