मास्क नलगाई हिड्नेलाई गोरखा प्रहरीले कारवाही

गोरखा ।मास्क नलगाई हिड्नेलाई गोरखा प्रहरीले कारवाही थालेको छ । बुधवार गोरखा सदरमुकाममा मास्क नलगाई पैदल हिडेका र सवारी साधनमा यात्रारत ७६ जनालाई एक सय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।

‘मास्क नलगाएकालाई सम्झाई बुझाई, मास्क लगाउन लगायौँ’ उनले भने ‘जिल्ला प्रशासन कार्यालयको रसिदमा हरेकलाई एक सय रुपैयाँ जरिवान गर्‍यौँ ।’ सबैलाई मास्क अनिवार्य लगाउन अनुरोध गरिएको डिएसपी दाहालले बताए । जिल्ला प्रहरी कार्यालयले कोरोनाबाट बच्न सर्वसाधारणलाई अनुरोध गर्दै नियमित चेतनामुलक अभियान संचालन गरिरहेको छ ।

‘मानिसहरुको चहलपहल हुने बजार क्षेत्रमा हामी नियमित चेकजाँच र सचेतनाका कार्यक्रम गर्छौँ’ डिएसपी दाहालले भने । साथै गोरखा भित्रने नाका गोरखा नगरपालिकाको मझुवा देउराली, पालुङटार र आरुघाटमा हेल्थ डेक्स राख्ने तयारी गरिएको र बिहिवारबाट स्वास्थ्यकर्मी सहित सुरक्षाकर्मीले सेवा सुरु गर्ने उनले बताए ।