काठमाडौंका ५ स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि ५ स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पुर्‌याउन नसक्दा अकालमा ज्यान जानसक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले कामपाले ५ स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरेको हो । नागरिकले यी सेवा पूर्णरूपमा निःशुल्क प्रयोग गर्न पाउनेछन् ।राष्ट्रिय सभागृह, ट्रलीबस परिसर, वडा-३ कार्यालय परिसर महाराजगञ्ज, वडा-१५ परिसर स्वयम्भू र वडा-७ कार्यालय परिसर मित्रपार्कमा दुई/दुईवटा एम्बुलेन्स चौबिसै घण्टा तैनाथ गरिएको छ । यी एम्बुलेन्सहरु कोभिडको सङ्क्रमण नभएका बिरामीका लागि हुन् । कोभिड सङ्क्रमण भएका बिरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् ।कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाका समयमा बिरामीलाई अस्पताल जानबाट वञ्चित हुन नपरोस् भनेर महानगरले यसप्रकारको सुविधा उपलब्ध गराएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुविधा दिइन्छ ।


उक्त सेवा प्रदान गर्नका लागि कामपाले संयुक्त एम्बुलेन्स चालक सङ्घसँग सम्झौता गरिसकेको छ । सेवाबापत महानगरले १५ दिनका लागि प्रतिएम्बुलेन्स १ लाख २१ हजार रुपैयाँ शुल्क भुक्तानी गर्नेछ । यसबापत सङ्घले १५ दिनका लागि चौबिसै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ । शुल्क महानगरले भुक्तानी गर्ने भएकाले बिरामीसँग एम्बुलेन्स सञ्चालकले थप शुल्क माग्न वा मोलमोलाइ गर्न पाउनेछैनन् ।

यो सुविधा महानगरबाट २ किलोमिटर दूरीसम्मका लागि मात्रै हो तर डायलासिस र क्यान्सर रोगीको उपचारका लागि भने त्यसभन्दा टाढा पनि जानुपर्नेछ । उक्त सेवा लिनका लागि सेवाग्राहीले कामपाको हटलाइन नं ११८० मा वा एम्बुलेन्स चालकसँग सिधै सम्पर्क पनि गर्न सक्ने व्यवस्था छ ।