नेपालमा कोरोना भयावह बन्दै, बागमती किनारामा लाइन लगाएर शव जलाइयो

काठमाडौं । पछिल्लो केही साता यता नेपालमा नयाँ स्वरुपको कोरोना भाइर संक्रमण तिव्र रुपमा फैलिरहेको छ । १ सय भन्दा कम दैनिक संक्रमित हुने गरेकोमा अहिले केही दिन यता संक्रमित ७ हजार भन्दा माथि पुगेका छन् । 

संक्रमितको संख्या थपिएसँगै कोरोना लागेर ज्यान गुमाउनेको संख्यापनि बढीरहेको छ। छिमेकी मुलुक भारतमा कोरोनाका कारण ज्यान गुमाउने संख्या उच्च भएपछि शव जलाउन आफन्तहरु लाइन लागेका, एकैपटक धेरै शवहरु जलाएका समाचारहरु सार्वजनिक भइरहँदा नेपालमा पनि त्यस्तै अवस्था बन्न लागेको त होइन भन्ने त्रास छाएको छ। 

आज दिनभर सामाजिक सञ्जालमा पशुपतिमा कोभिडका कारण मृत्यु भएका शव लाइनै जलाइएको तस्वीर भाइरल बनेको छ। 
पशुपतिको विद्युतीय शवदाह गृहमा कोरोनाबाट ज्यान गुमाएकाहरुको दाहसंस्कार गरिँदै आएको थियो । 

उक्त कार्य नेपाली सेनाले गर्दै आएको छ । तर विद्युतीय शवदाहगृहमा डेढ घन्टामा एक शव जलाउन सकिने र दैनिक मृतकको संख्या बढीरहँदा शव जलाउन समस्या आउन थालेसँगै त्यसको विकल्प खोजि गरिएको हो । 

त्यसका लागि नेपाली सेनाले बागमती किनारामा कोरोना संक्रमितको शव जलाउने व्यवस्था मिलाएको थियो। 

सेनाले आइतबारसम्म कोरोनाबाट मृत्यु भएका देशभरबाट ३ हजार ४ सय ६२ वटा शव व्यवस्थापन गरेको छ। सोमबार ३ बजेसम्म मात्रै उपत्यकामा ३० वटा शव व्यवस्थापनका लागि अनुरोध भएर आएको नेपाली सेनाले बताएको छ। यति धेरै संख्यामा शवहरु आउन थालेपछि विद्युतीय शवदाह गृहको विकल्प खोजिएको हो। 

कतिपयले यसलाई सुरुवाता मात्र भनेका छन्। 

स्वास्थ्य सावधानी नअपनाउने हो भने भारतमा भन्दा विकराल अवस्था आउन सक्ने चेतावनी स्वास्थ्यकर्मीहरुले दिइरहेका छन्।