देशभरका अस्पताल र मेडिकल कलेजलाई अब कोभिड अस्पताल बनाइनेछ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै देशभरका सबै ठूला अस्पताल र मेडिकल कलेजलाई अब कोभिड अस्पताल बनाइने बताएका छन् ।

काठमाडौँमा वीर अस्पतालको नयाँ भवन, त्रिचन्द्र सैनिक अस्पताल लगायत अस्पताललाई कोभिड अस्पतालका रूपमा प्रयोग गरिनेछ । उनले भने, ‘वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिनेछ।’

प्रदेश सरकारले पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड अस्पताल बनाउने र साना अस्पताललाई नन-कोभिड अस्पतालका रूपमा प्रयोग गर्ने उनले बताए। सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको पनि उनले जानकारी दिए ।

त्यस्तै, नेपाली सेनाले राजधानीबाहिर एक हजार शय्याको अस्पताल बनाउने उनले बताए । सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्धमध्ये प्रयोग भएका र नभएका शैय्याको दैनिक विवरण अद्यावधिक गरेर अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनु पर्नेछ । कुनै अस्पतालले विवरण पूरा नपठाई शैय्या लुकाएको भेटिए कारबाही गरिने उनले बताए ।

ठूला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिने र बिग्रेकालाई मर्मत गर्ने समेत प्रधानमन्त्री ओलीले बताए । कोरोनाभाइरस फैलन नदिन सरकारी तथा अन्य कार्यालयमा एकचौथाइ कर्मचारीबाट कार्य गर्ने व्यवस्था गरेको उनले बताए। ओलीले सबै जनतालाई सचेत रहन आह्वान समेत गरे ।

ताजा अपडेट