दाङमा चार महिनादेखि वेपत्ता संचारकर्मीको कंकाल फेला

दाङ ।  दाङमा चार महिनादेखि वेपत्ता संचारकर्मी देवेन्द्र वलीको कंकाल फेला परेको छ । गत माघ १५ गतेदेखि घोराहीबाट वेपत्ता रेडियो स्वर्गद्वारी एफएममा कार्यरत संचारकर्मी वलीको कपडा र जुत्तासहित मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।

घोराही उपमहानगरपालिका १६ को बाँघखोर सामुदायिक वनमा उक्त कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले बताए । कंकालसहित भेटिएको पाइन्ट, घडी, जुत्ता वलीकै भएको परिवारले बताएको छ ।

शव गलेको अवस्थामा भेटिएकाले कंकाल वलीको हो या हैन भन्ने पहिचान खुलेको छैन । अहिले डिएनए पहिचानका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली गत १५ माघमा क्याम्पसबाट डेरा फर्किएका र त्यसै दिनबाट वेपत्ता भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।