काठमाडौँको चन्द्रागिरि नगरपालिकाको ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना

काठमाडौँ । नागढुंगामा चन्द्रागिरि नगरपालिकाको ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ ।

नेपालमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएसंगै काठमाडौँ  भित्रिने मुख्य नाकाका रूपमा रहेको चन्द्रागिरिको नागढुंगामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको हो ।

बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले संयुक्त रूपमा शुरुआत गरेका हुन् ।

नगरपालिकाद्वारा स्थापना गरिएको उक्त केन्द्रमा सोही नाका हुँदै काठमाडौँ उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक तथा कर्मचारीको स्वास्थ्य जाँच गरिने नगरप्रमुख गिरीले जानकारी दिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह, नगर प्रवक्ता हरिभक्त महर्जन, चन्द्रागिरि–२ का वडाध्यक्ष गोपी सुर्खेतीलगायतको उपस्थिति थियो ।

हालसम्म चन्द्रागिरिमा दुई हजार ३७९ जनालाई कोरोना सङ्क्रमण देखिएको नगरपालिकाका प्रवक्ता महर्जनले जानकारी दिए । तीमध्ये दुई हजार १८१ निको भएर घर फर्किसकेका छन् भने १५८ होम आइसोलेशन र १४ जना अस्पतालमा उपचारत छन् । हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण २६ जनाले ज्यान गुमाइसकेका छन् ।