मोटेरेबल पुल बगायो

काठमाडौं ।सुनकोशी नदीमा आएको बाढीका कारण ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल बगाएको भन्दै समाचार आइरहेको छ ।

२ सय १० मिटर लम्बाइको पुलको करिब ४० मिटर भाग बगेपछि इन्जिनियरिङ क्षेत्रमा भने इन्जिनियरिङको गलत अभ्यासका कारण पुलमा क्षति पुगेको बहस सुरु भएको छ ।

करिब २३ करोड लगानीमा चुँदी कन्ट्रक्सन प्रा.लि. सानेपाले निर्माण जिम्मा लिएको पुल अनुचित तटबन्ध डिजाइनका कारण बाढीले बगाएको इन्जिनियरहरु बताउँछन् । केहीले स्काफोल्डिङ राम्रोसँग नगरेको, ओभर प्लापिङ भएको र सोइल कम्प्याक्ट पनि नभएका कारण पुलमा क्षति पुगेको हुनसक्ने बताएका छन् ।

सामाजिक संजालमा उठेको पुलको बहसमा इन्जिनियर पुष्प पौडेल भन्छन्, ‘हावा पानी र भूकम्पलाई दोष दिएर बच्ने मात्र हो । गल्ती ढाकछोपको लागि नियमन गर्ने निकाय छैन । भएको पनि भ्रष्ट छ, कसरी हुन्छ ?’

त्यस्तै, इन्जिनियर नरोत्तम श्रेष्ठ नेपालमा ‘रिभर इन्जिनियरिङ’ को अध्ययनको कमीका कारण अधिकांश पुलमा समस्या आएको बताउँछन् । उनी भन्छन्, ‘अधिकांश निर्माणाधिन पुलहरु फर्मवर्क/सोरिङको अध्यययनमा कमी, तटबन्धबारे विचार नगरिनुका कारण भत्कन्छन् । लागत बचतका लागि यस्तो हुने गरेको छ ।’

इन्जिनियर कृष्ण यादव स्पान लम्बाइ बढी हुनु र लोडको हिसाबकिताब नमिलेका कारण सो पुल भत्किएको बताउँछन् । अधिकांश इन्जिनियर बाढी रोक्ने तटबन्धको काम नभएको र ढुंगा–माटोले बनेको बाँध अस्थाई सपोर्टको रुपमा प्रयोग भएकाले समस्या देखिएको बताउँछन् ।

ताजा अपडेट