एसईई तथा कक्षा १२ को परीक्षा

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस संक्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलले सरोकारवालासँग छलफल गरी आफ्नो प्रतिवेदन बुझाएको जानकारी अध्यक्ष पौडेलले दिए । अब प्रतिवेदनउपर बोर्डको बैठकमा छलफल गरी सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने जानकारी उनले दिए ।खासगरी संक्रमण अवस्थाको आकलन र परीक्षाको मोडालिटीलाई सँगै राखेर विश्लेषण गरेर मात्र निचोडमा पुग्नुपर्ने अवस्था रहेको अध्यक्ष पौडेलले बताए । संक्रमणको अवस्थामा विदेशका बोर्डहरूले गरेको अभ्यास र निर्णयलाई आधार मानेर प्रतिवेदन सिफारिस गरिएको जनाइएको छ ।