सप्तरीमा सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

सप्तरी । सप्तरीमा सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।
१३ वर्ष कैद सजाय पाएर फरार भएका तत्कालीन साविकको सकरपुरा गाविस–७ हाल तिलाठी कोइलाडी गाउँपालिका–३)का लफन्दर भनिने ओमप्रकाश मुखियालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई गाउँमै फेला पारी नियन्त्रण्मा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बताए ।

मुखियालाई गाई चराउन गएकी १० वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कैद सजाय फैसला गरेको थियो । घटना २०६४ साल असोज ९ गते भएको थियो । त्यसयता उनी फरार थिए । पक्राउ परेका मुखियालाई कैद भुक्तानको लागि अदालतले राजविराज कारागार चलान गरिसकेको छ ।

यो घटनामा अरु तीनजना पनि संलग्न थिए । उनीहरुलाई पनि १३ वर्ष कैद सजाय फैसला भएको थियो । एकजना अझै फरार रहेको प्रहरीले जनाएको छ ।