आधिकारिकता दाबी गर्दै जसपा यादव समुह निर्वाचन आयोगमा

काठमाडौं ।  विभाजनको मुखमा रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समुह पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग समक्ष पुगेको छ ।

शुक्रबार अध्यक्ष यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई लगायतका नेताहरु आयोगको कार्यालय पुगेका हुन् ।

आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन दिएका छन् ।

आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकता दावी गरेको हो ।

पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष र यादव पक्षमा पछिल्लो समय विवाद बढ्दै जाँदा एकले अर्कोलाई कारबाही गरेको भन्दै आयोगमा दुवै पक्षले आधिकारिकताको दाबी गरेका थिए । आयोगले दुवै पक्षको दाबी नपुगेको भन्दै जसपाका पदाधिकारी पूर्ववत् अवस्थामै रहने निर्णय दिएसँगै यादव पक्ष पुनः आयोग पुगेको हो । 

जसपा यादव समुह केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर सहित आयोग पुगेको जसपाका एक नेताले बताएका छन् ।