नुवाकोट समाज जापानद्वारा त्रिशुली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

विदुर । नुवाकोट समाज जापानद्वारा त्रिशुली अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

आज एक कार्यक्रमकाबीच नुवाकोट जापान समाजले अस्पताललाई ३ वटा आइसीयू बेड, ३ थान मनिटर, अक्सिमिटर, सिरिञ्ज पम्प, पिपिई सेट र मास्क पन्जा सहित १६ लाख रुपैयाँ बराबरको अन्य सामाग्री उपलब्ध गराएको हो ।

नुवाकोट लगायत विभिन्न जिल्लाबाट जापानमा अध्ययन र रोजगारीको शिलशिलामा रहेका युवाहरुको सक्रियतामा संकलित रकमले स्वास्थ्य सामाग्री खरिद गरि त्रिशुली अस्पताललाई उपलब्ध गराएको नुवाकोट समाज जापानका उपाध्यक्ष रामजंग कार्कीले बताए ।

उक्त सामाग्रीहरु खरिद गर्नका लागि जापानमा रहेका नेपालीहरुले केहि समयदेखि अभियानमार्फत १६ लाख ९५ हजार १ सय रकम जम्मा गरेका थिए ।

नुवाकोटसहित धादिङ र रसुवाको नागरिकहरुलाई समेत उपचार सेवा उपलब्ध गराउँदै आएको अस्पताललाई जापानमा रहेका नेपालीहरुले संकलन गरेको रकमबाट खरिद उक्त स्वास्थ्य सामाग्रीहरु विदुर नगरपालिकाका मेयर सन्जु पन्डितको रोहोवरमा हस्तान्तरण गरिएको हो । त्यसैगरी नुवाकोट जापान समाजमा आवद्ध रहेका १ सय २० जना व्यक्तिहरुले संकलन गरेको रकम र नाम सहितको ताम्रपत्र समेत अस्पताल लाई हस्तान्तरण गरिएको छ । त्यस्तै कोरोना संक्रमितहरुको उपचारको लागी अत्यावश्यक आइसीयू बेड लगायतका स्वास्थ्य सामाग्रीहरुको लागि धन्यवाद दिँदै अस्पताल प्रशासनले आगामी दिनमा समेत सहयोगको अपेक्षा समेत रहेको जनाइएको छ ।