रुपा सुनारको उजुरीका आधारमा पक्राउ परेको घरबेटीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं । सञ्चारकर्मी रुपा सुनारको उजुरीका आधारमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानले ३ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ । दलित भनेर रुपालाई कोठा भाडामा नदिएको आरोपमा प्रहरीले आज उनलाई पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार सरस्वतीलाई ३ दिनको म्याद लिएर आइतबार पक्राउ गरिएको हो । परीसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले भने, ‘जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर पक्राउ गरिएको छ । अब ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिन्छ ।’

अनुसन्धानबाट आरोप प्रमाणित भएमा आवश्यक कारवाही प्रक्रियाका लागि प्रहरीले अदालतमा मुद्धा पेश गर्ने उनले बताए । तर, ३ दिनको अनुसन्धानबाट मुद्धा किनारा नलागे म्याद थपिन पनि सक्ने उनको भनाइ छ । बस्नेतले भने, ‘तीन दिनअगाडी नै किनारा लाग्यो भने यो विचमा पनि मुद्धा अदालतमा पेश हुन सक्छ । यदि ३ दिनमा टुंगो लागेन भने म्याद थप गर्नुपर्ने हुनसक्छ ।’

रुपाले असार १ गते बवरमहलमा घर भएकी घरधनी सरस्वती प्रधानले सबै कुरा मिलेपछि दलित भन्ने थाहा पाएर कोठा भाडामा नदिएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् । आफुमाथी जातीय विभेद भएको उनको गुनासो छ । जाहेरी परेको ३ दिनपछि प्रहरीले प्रधानलाई पक्राउ गरेर नियन्त्रणमा लिएको हो ।