कालीगण्डकी बचाऔँ’ अभियान आन्दोलनका रूपमा अघि बढ्दै

पर्वत। धौलागिरिमा युवा समूहले सामाजिक सञ्जाल फेसबुक मार्फत  ‘कालीगण्डकी बचाऔँ’ अभियानलाई आन्दोलनका रूपमा अघि बढाएका छन् ।  

कालीगण्डकीको धार्मिक तथा ऐतिहासिक महत्त्वका विषय देखि कालीगण्डकी दोहनले पार्ने असरका बारेमा  रचनात्मक तरिकाबाट बुझाउने र सम्बन्धित निकायलाई दबाब सृजना गर्ने उद्देश्यले पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका युवाहरूले सो अभियान सञ्चालन गरेका हुन् । 

धौलागिरिका जिल्ला मध्ये पर्वतमा सबैभन्दा बढी कालीगण्डकी दोहन कार्य तीव्र गतिमा भइरहेको छ । यहाँका अधिकांश क्रसर उद्योगहरू मापदण्ड विपरीत सञ्चालित रहेको बताइएको छ । यसका सञ्चालकहरू सक्ता र शक्तिको आड लिएर  बर्षौ  देखि कालीगण्डकी दोहनमा सक्रिय छन् । 

अभियानकर्ता आरके अदिप्त गिरीले कालीगण्डकीमा हुने क्रूर दोहनका कारण नदी अनियन्त्रित र असन्तुलित भएको बताएका छन् ।  । ‘नदी स्थिर बग्न, नदीको गर्त, आँत, (दायाँबायाँका किनारा आधार ढुङ्गा गिट्टी बालुवा, माटो, चट्टान आदि) बगरको महत्त्वपूर्ण भूमिका रहन्छ ।  पछिल्ला दिनमा नदीमा हुने दोहनका कारण यी रक्षाकवचहरु अतिक्रमणको सिकार भएका छन्, फलतः यसकै परिणाम विभिन्न खालका अप्रिय समाचारहरू सुन्दै, पढ्दै र भोग्दै छौँ,’ उनले भने ।