निधिलाई समेटेर महाधिवेशनमा जान देउवालाई केन्द्रीय सदस्यहरुको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १४ औं महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी दिने बताएसँगै आफू निकट केन्द्रीय सदस्यसँग छलफल थालेका छन् । 

भदौ १६ देखि १९ सम्म कांग्रेसको १४ औं महाधिवेशन तोकिएको छ । उक्त महाधिवेशनमा आफू सर्वसम्मत सभापतिमा चुनिने तयारीमा लागेका देउवालाई उनी समुहकै उपसभापति विमलेन्द्र निधिले चुनौती दिएका छन् । 

गत शनीबार देउवाले प्रदेश २ का केन्द्रीय सदस्यसँग महाधिवेशनको लागि छलफल गरेर आफूलाई जिताउन आग्रह गरेका थिए । देउवाले आज मात्रै बागमति प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेर आफूलाई जिताउन आग्रह गरेको बताइएको छ । 

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी दिने मुख्य प्रतिस्पर्धीहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइरालाको चर्चा चलेपनि निधिको दाबीले देउवा समुहमा तरङ्ग छाएको छ ।

बागमती प्रदेशका केन्द्रीय सदस्यहरुसँग आजको छलफलमा देउवाले सुरुमै आफू सर्वसम्मत रुपमा पुनः सभापति हुन चाहेको र आगामी दिनमा कांग्रेसलाई देशकै ठूलो पार्टी बनाउने पनि बताएका थिए । 

सभापति देउवाले राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने एकमात्र व्यक्ति पार्टीमा आफू रहेकाले फेरि सभापति उठ्ने तयारी गरेको  बताएका थिए । 

देउवाले पुनः सभापतिमा जिताउनको लागि सहयोग मागिरहँदा उनकै समुहका बागमती प्रदेशका केन्द्रीय सदस्यहरुले पहिला उपसभापति निधिको बारेमा टुंगो लगाउन भनेका  छन् ।

निधि देउवा निकट नै मानिन्छन् । १३ औं महाधिवेशनमा पनि देउवालाई सभापति बनाउन निधिको ठूलो हात रहेको थियो । १४ औं महाधिवेशनमा भने निधिले सभापतिमा आफै उठ्ने बताइसकेका छन् । 

केन्द्रीय सदस्यहरुले गरेको प्रश्नको जवाफ दिँदै देउवाले निधिलाई आफूले कुरा गर्ने र उनको विषयमा चिन्ता नलिन पनि आग्रह गरेका थिए । 

बैठकमा सहभागी बागमति प्रदेशका केन्द्रीय सदस्यहरुले निधिलाई पनि समेटेर जानुपर्ने बताएका छन् । साथै देउवाले आफ्नो नेतृत्मा कांग्रेस कहिले पनि कमजोर नभएको दाबी गरेका छन् ।