जडिबुटि टिप्न गएका एक जनाको भीरबाट खसेर मृत्यु , ४ जनाको हेलिकोप्टरबाट उद्धार

गोरखा र लमजुङको सीमानामा जडिबुटी टिप्न रहेको बौद्ध हिमाल क्षेत्रको लेक पसेका एकजनाको भीरबाट खसेर मृत्यु भएको छ भने ४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

गएको जेठ २६ गते लेक पसेका मध्ये गोरखा चुमनुब्री गाउँपालिका ३, सिर्दीबासका २४ वर्षीय सुरेन्द्र गुरुङको भीरबाट खसेर मृत्यु भएको सँगैका साथीहरुले बताएका छन् । मृतकको शव प्राप्त हुन नसकेको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

बाँकी ४ जनाको भने सोमबार काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । लेकमा पानी परेपछि खतरामा परेकाहरुलाई गोरखाको लाप्राक गाउँमा ल्याइएको उनले जानकारी दिए ।

गोरखाको बारपाक सुलीचौर गाउँपालिका र लमजुङको सीमानामा पर्ने बौद्ध हिमाल क्षेत्र जडिबुटीको लागि पनि प्रख्यात छ । गाउँलेहरु हरेक वर्ष यही सिजनमा त्यहाँ जडिबुटी टिप्न जाने गर्छन् ।