राष्ट्रपतिले प्रधानमन्त्री ओलीको कार्यकर्ता भएर काम गरेको देउवाको आरोप

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति नभएर ओलीको कार्यकर्ताको रुपमा काम गरेको आरोप लगाएका छन् ।  प्रतिनिधि सभा विघटनविरुद्घ संघर्ष गर्न बनेको ५ दलीय गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दा राष्ट्रपतिले गलत गरेको  आरोप लगाएका हुन् ।

राष्ट्रपति नभएर ओलीको कार्यकर्ता भएर काम गर्नुभयो । मलाई पहिला क्याबिनेट पुनर्गठन गर्न दिनुभएन, अहिले धमाधम शपथ खुवाउनुभयो । राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो । ओलीले भन्दा राष्ट्रपतिले गलत गरेको हो,‘ देउवाले भने 

साथै अदालतले प्रधानमन्त्री बनाओस भन्ने आफूहरुको धारणा नभएको  तर अदालतले संविधानको व्याख्या गरिदिनु पर्ने उनले बताएका छन् । 

‘अदालतले प्रधानमन्त्री बनाओस भनेको होइन, तर संविधानको व्याख्या त अदालतले गरिदिनुपर्यो नि । राष्ट्रपतिले आव्हान गर्नुभो, हामीले बहुमत सहित दावी गर्यौ । राष्ट्रपतिलाइ समस्या परेको भए सनाखत गरेको भए हुन्थ्यो । को कता छ भनेर सोधेको भए हुने । तर मध्यरातमा जे भयो गलत भयो । हाम्रो त सही छाप नै बुझाको छ नि, पार्लियामेन्टमा परेड गरायको भए नि हुन्थ्यो,’ उनले भने । 

अदालतले आफूलाई नै प्रधानमन्त्री बनाउनेमा विश्वस्त रहेको बताउँदै उनले भने, ‘अदालतले शेरबहादुरलाई प्रधानमन्त्री बनाएर १ महिनाभित्र विश्वासको मत लिन लगाउन राष्ट्रपतिलाई आदेश गर्ने विश्वास छ।’

साथै नेकपा एमालेका असन्तुष्ट समुहका नेता माधवकुमार नेपाल नेतृत्वको एमाले नै  लोकतन्त्रको पक्षमा रहेको एमाले भएको देउवाले जिकिर गरेका छन् । 

‘माधवजी लडाकु मित्र हो । उहालाई पनि कुनै धोका हुदैन । उहाकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ,’देउवाले भने ।