पत्रकार बी. के. पाल्पालीको अवस्था झन जटिल बन्दै

काठमाडौं । नेपाल बोर्डर साप्ताहिकका सम्पादक बी. के. पाल्पाली आठ बर्ष देखि मृगौला रोगसँग संघर्ष गरिरहेका छन् । मृगौला रोगबाट पीडित पत्रकार एवं साहित्यकार पाल्पालीको स्वास्थ्य अवस्था झनै जटिल भएको छ । कोरोनाको दोस्रो संक्रमण बढेसँगै डायलाइसिस र नियमित खाने औषधीको व्यवस्था गर्न नसक्दा उनको स्वास्थ्य अवस्था जटिल बन्न पुगेको उनकी श्रीमती रेनुका भट्टराईले बताएकी छन् । राज्यले मृगौला रोगीहरुको डायलाइसीस निशुल्क भने पनि आफूले त्यो सुविधा नपाएको र महगोमा डायलाइसिसका लागि आवश्यक पर्ने सामन किन्न बाध्य हुनुपरेको रेनुकाले बताएकी छन् । 

साहित्य लेखन क्षेत्रमा पनि उत्तिकै सकृय रहेका पाल्पालीका पेस्तोल भित्रका गोलीहरु (कवितासंग्रह), घायल वर्तमान (हाइकुसंग्रह), चार्लीको चिठी (हाइकुसंग्रह), धरणी (महाकाव्य) लगायत एक दर्जन भन्दा बढी कृति प्रकाशन भएका छन् । 

पाल्पालीकी श्रीमतीले सामाजिक सञ्जालमा लेख्दै आर्थिक अभावको कारण अप्ठ्यारो परिस्थिति आइपरेको भन्दै पाल्पालीको जीवन रक्षार्थ सहयोगको अपिल गरेकी छन् ।

उनी लेख्छिन ‘मेरो श्रीमान् पत्रकार तथा साहित्यकार बी.के. पाल्पाली लामो समयदेखि मिर्गोलासम्वन्धी रोगले ग्रसित भई जीवन मृत्युसँग जुधिरहनुभएको छ । म आफैँ पनि सुगरको विरामी भएको कारण दाहिने हात नचल्ने समस्या करिब डेढ महिनादेखि भोगिरहेको छु । उहाँलाई नियमित खुवाउने औषधी अभाव हुनुका साथै डायलासिस पनि नियमित हुन नसक्ने वातावरण सिर्जना भएको छ । तसर्थ यहाँहरुलाई पूनः बी. के. पाल्पालीको जीवन रक्षार्थ हार्दिक अपिल गर्दछु । आज ९ वर्षको यो लामो यात्रामा यहाँहरुको सहयोग, सद्भावले नै जोगाएको हो । यसप्रति सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

साथै उनले पाल्पालीको जीवन बचाउँनका निपम्त सहयोगको अपील पनि गरेकी छन् । ‘उहाँको औषधी उपचारमा समेत आर्थिक अभाव भएकाले जीवन रक्षाको लागि हार्दिक अनुरोध गर्दछु । कुमारी बैक पुतलिसडक शाखाको खाता ००१०००२५१७३००००१ रेनुका भट्टराईको नाममा सहयोग पठाउन सक्नुहुनेछ,’ उनले लेखेकी छन् । 

पाल्पाली विगत ९ वर्षदेखि मृगौला रोगबाट पीडित छन् । यो देशका प्रधानमन्त्री स्वयम् दुई–दुई पटक मृगौला प्रत्यारोपण गरेर जीवन दान पाइरहेका छन् । देशमा अहिलेको व्यवस्था ल्याउन र आवाज विहीनहरुको आवाज बनेर समाजमा चेतना फैलाउन सकृय पत्रकारले भने ९ वर्षदेखि औषधि र डायलाइसिसको चिन्तमा जीवन बिताउनुपरेको छ । बिरामीका आफन्तहरुले आर्थिक अभावकै कारण उपचार गर्न नसकेकोमा आफ्नो भाग्यलाई धिर्कानु परेको छ । यस विषयमा सम्बन्धित निकायको ध्यान केन्द्रीत हुनु आवस्यक छ ।