उद्घाटन नहुँदै भासियो कमला पुल

हुलाकी राजमार्गअन्तर्गतको धनुषा र सिरहा जोड्ने कमला पुल बिहिवार भासिएको छ ।

उक्त राजमार्गअन्तर्गतको सो पुल उद्घाटन नहुँदै भासिएको छ । बाढीका कारण पुल भासिएको जनाइएको छ । असार १३ गतेसम्ममा पुल हस्तान्तरण गरी उद्घाटन गर्ने भनिए पनि नवनिर्मित पुल भासिएको छ । आयोजनाले पुल दुई सातापछि सञ्चालनमा आउने तयारी भइरहेको जनाएको थियो । तर, सोही पुलको १२ ओटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको स्थानीय तथा अन्नपूर्ण कुञ्ज इन्जिनियरिङ कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर विवेक कर्णले इन्जिनियर्स पोस्टलाई जानकारी दिए । ‘पाइलको सेटल्मेन्ट धेरै भएर भासिएको हो,’ पुल भत्किनुको कारण बताउँदै उनले भने, ‘पुल भत्किएको भागमा राम्रोसँग पाइल नभएका कारण बढी सेटलमेन्ट भएर पुलको त्यो भाग भासिएको हो ।’

लगातार बर्षाका कारण बाढी आएपछि पुल भत्काउन मदत गरेको हो । ई. कर्णका अनुसार पानीको बहाव अझै बढ्दै गयो भने निर्माणधीन बाँध पनि भत्किन सक्छ । पुल निर्माणमा ढिलासुस्ती भएका र कमिसनको खेलका कारण गुणस्तरीय सामान प्रयोग नभएको भन्दै स्थानीयल पनि विरोध गरेका छन् ।

२०७८ असार १३ मा पुल जिम्मा लगाउने गरी ४२ महिनाका लागि पप्पु कन्स्ट्रक्सन र ज्यान जेभीले ठेक्का लिएका थिए । घरिघरि समयमै निर्माण सम्पन्न हुन नसक्दा बीचबीचमा म्याद थपिँदै अन्त्यमा लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो ।

२४ करोड ४२ लाख कुल लागतमा उक्त पुल निर्माण भएको थियो ।

ताजा अपडेट